हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

फोटो फिचर

पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ ।

गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर पूरा गर्न बर्सेनी सयौं स्वदेशी तथा विदेशी हिमाली क्षेत्रको पाहुना हुन पुग्छन् ।

पोखरा निर्वाचनमय बनिसकेको थियो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पारो चढ्दै छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनले कास्कीलाई छपक्कै छोपिसकेको थियो । तर, चुनावी माहोलकाबीच केही दिनअघि एकहुल युवा भने हिमाल छुन निस्किए ।

पोखराबाट उत्तर हेर्नेलाई आभास हुनसक्छ, म हिमालमै छु । उतिबेलै हिमाल पुगेर हिँउ खेल्न पनि सकिन्छ, कल्पना गरेर । तर, यसपटक हिमाल छुन निस्केका युवाले १५/२० मिनेटमै हिमाल छुन पाए । त्यो कल्पनामा थिएन, यथार्थमै थियो ।

कम समयमा पनि हिमाल पुगेर हिँउ खेल्ने चाह भएका व्यक्तिले हिमालको माथिमाथिबाट दृश्यावलोकन गर्दै अब १५/२० मिनेटमै अन्नपूर्ण बेसक्याम्प पुग्न सक्ने भएको छ ।

यो सेवा सिम्रिक एयरको हेलिकप्टरले पूरा गरेको छ भने पोखरा हेलिसर्भिसले छोटो समयमा हिमालमा रमाएर फर्कने इच्छालाई पूरा गर्न सघाएको छ ।

अन्नपूर्ण बेसक्याप्प पुग्दा देखिए, कोही उफ्रिरहेका मृगका साबक झैं । कोही बुर्कुसी मारिरहेका छन्, जसरी बँधुवा गोरु फुकाउँदा जसरी बुर्कुसी मारेर दौडन्छ ।

कोही माछापुच्छ्रे, अन्नपूर्ण, गंगा लगायतका हिमाललाई पछाडि पारेर सेल्फी खिचिरहेका छन् ।

कोही हात माथि उठाएर उफ्रिँदै उडेको जसरी फोटो कैद गर्न लालायित छन् । हिमाल ओडेर, हिमाललाई अंगालो बेरेर, हिमालै आछ्याएर पल्टिरहेका छन्, कोही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *